कुलानन्द यादव/ जेष्ठ २३ गते/शनिवार
सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका-५ स्थित श्री आधारभूत विद्यालय कदमाहा मा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय भगवानपुर द्वारा वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई स्कूल ब्याग, पोशाक तथा विभिन्न शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयलाई कम्प्युटर सामग्री समेत हस्तान्तरण गरिएको थियो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख अधिकृत राम बहादुर यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष कुमार यादव, उपाध्यक्ष ममता कुमारी यादव, वडा नं. ५ का वडा अध्यक्ष शिव नारायण यादव तथा वडा नं. १ का वडा अध्यक्ष देवेन्द्र प्रसाद यादव को विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य संस्थाका अनुगमन अधिकृत आशाराम यादव ले व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा शिक्षाप्रति उत्साह बढाउनुका साथै वित्तीय साक्षरताबारे जानकारी प्रदान गर्नु रहेको थियो। यस अवसरमा विद्यालयमा अध्ययनरत नन्दनी कुमारी यादव, कृष्णा कुमार यादव, रिया कुमारी सिंह, राजु कुमार यादव तथा भवानी कुमारी ठाकुर लगायतका विद्यार्थीहरूलाई स्कूल ब्याग, पोशाक तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। सामग्री प्राप्त गरेपछि विद्यार्थीहरूको अनुहारमा देखिएको खुसीले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो।

त्यसैगरी, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख अधिकृत राम बहादुर यादव ले विद्यालयका प्रधानाध्यापक राम नरेश ठाकुर लाई कम्प्युटर सामग्री हस्तान्तरण गर्नुभयो। विद्यालयमा प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्न तथा विद्यार्थीहरूलाई आधुनिक शिक्षासँग जोड्न उक्त सहयोग महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

प्रमुख अतिथि राम बहादुर यादवले आफ्नो मन्तव्यमा शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई नियमित अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो। उहाँले नेशनल लघुवित्तले वित्तीय सेवा मात्र नभई शिक्षा, सामाजिक विकास र समुदाय उत्थानका क्षेत्रमा पनि निरन्तर योगदान दिँदै आएको बताउनुभयो।

कार्यक्रममा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय बुद्धिजीवी तथा भद्रभलादमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गरेको यो सहयोगले विद्यालय, विद्यार्थी तथा सम्पूर्ण समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। शिक्षा र प्रविधिको पहुँच विस्तार गर्दै उज्ज्वल भविष्य निर्माणमा यस्ता पहलहरू प्रेरणादायी र अनुकरणीय मानिएका छन्।



















