कुलानन्द यादव: सिराहा : परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोनहरू पानीमा डुबाएर नष्ट गरिएको घटनाको विरोधमा सिरहाका विद्यार्थीहरू सडकमा उत्रिएका छन्। "विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार" भन्ने नारासहित विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यार्थी संगठनहरूले प्रदर्शन गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रदर्शनकारीहरूले परीक्षा केन्द्रबाट संकलन गरिएका मोबाइल फोनहरू कानुनी प्रक्रिया बिना नष्ट गर्नु विद्यार्थीको निजी सम्पत्तिमाथिको हस्तक्षेप भएको आरोप लगाएका छन्। उनीहरूले नष्ट गरिएका मोबाइलको उचित क्षतिपूर्ति दिन तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
"अनुशासन कायम गर्ने नाममा विद्यार्थीको सम्पत्ति नष्ट गर्न पाइँदैन," प्रदर्शनमा सहभागी विद्यार्थीहरूको भनाइ छ। उनीहरूले भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट कार्यविधि बनाउन समेत सरकारसँग माग गरेका छन्।
यस घटनाले विद्यार्थी समुदायमा आक्रोश बढाएको छ भने सम्बन्धित निकायबाट अहिलेसम्म स्पष्ट जवाफ नआएको भन्दै आन्दोलन थप सशक्त बनाउने चेतावनी दिइएको छ।

"विद्यार्थीको आवाज दबाएर होइन, न्याय र क्षतिपूर्तिबाट समस्याको समाधान खोज्नुपर्छ" भन्दै प्रदर्शनकारीहरूले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन्।

















