काठमाडौं । अमेरिकामा यात्रुवाहक विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको छ ।
एक अमेरिकी एयरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीको आकाशमा हेलिकोप्टरसँग ठोक्किएर नदीमा खसेको बीबीसीको समाचारमा उल्लेख छ ।
सङ्घीय उड्डयन प्रशासनले दिएको जानकारीअनुसार स्थानीय समय अनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा दुर्घटना भएको हो ।घटनाबारे रेगन विमानस्थलले सामाजिक सञ्जाल एक्समा लेखेको ‘सबै उडान तत्कालका लागि बन्द गरिएका छन् ।’
नेपाली समयअनुसार बिहीबार बिहान वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ । त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देख्न सकिन्छ ।
डीसी फायर र ईएमएस विभागले भनेको छ, ‘विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको छ । जुन नदी वाशिङ्टन डीसी हुँदै बगेको थियो । फायरबोटहरू नदीमा खोजी कार्य गरिरहेका छन् ।
विमान र हेलिकोप्टरमा कति यात्रु र चालक दलका सदस्य थिए भन्ने विषय बाहिरिएको छैन ।


















