विनोद मण्डल/ सिरहा। सिराहा जिल्लाको धनगढीमाई–१२ स्थित पत्रकार विनोद मण्डलको घर अगाडि चुडिन लागेको ११ हजार भोल्टेजको तार नेपाल विद्युत प्राधिकरण लाहान शाखाको प्राविधिक टोलीले मर्मत गरेको छ ।
सोमबार बिहान मण्डलका आफन्तहरूले घर अगाडि जोखिमपूर्ण रूपमा झुन्डिएको तार देखेपछि पत्रकार मण्डलले तत्काल सिराहा टाइम्सका पत्रकार ओम प्रकाश यादवलाई जानकारी गराएका थिए । पत्रकार यादवले नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई खबर गर्दै तत्काल प्रसारण लाइन काट्न अनुरोध गरेपछि प्राविधिक टोली मर्मत कार्यका लागि परिचालन गरिएको थियो ।
विद्युत प्राधिकरणको टोलीले सोही दिन घटनास्थलमा पुगेर तारको मर्मत सम्पन्न गरेको हो । यसअघि धनगढीमाई नगरपालिकाका विभिन्न उत्तरी बस्ती तथा ग्रामीण क्षेत्रका ठाउँहरूमा ११ हजार भोल्टेजका तारहरू अव्यवस्थित रहेको गुनासो आइरहेको थियो ।
नेपाल विद्युत प्राधिकरण लाहान शाखाका प्रमुखका अनुसार, जोखिमपूर्ण अवस्थामा रहेका यस्ता तारहरूको पहिचान गरी क्रमशः मर्मत तथा व्यवस्थापन गरिनेछ । विद्युत सुरक्षाका उपायहरू अपनाउन र समयमै समस्या रिपोर्ट गर्न आम नागरिकलाई समेत आग्रह गरिएको छ ।


















