काठमाडौं । राजावादीहरूको गतिविधि बढ्दै गएपछि नेपालका प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सहमतिको सरकार गठनका लागि कसरत भइरहको विषयले अहिले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ । हुन त तीनवटै दलका नेताहरूले राष्ट्रिय सहमतिको सरकारका लागि छलफल भएको भनि बाहिर आएका विषयको खण्डन गरेका छन्, तर शीर्ष तहमा यसबारे छलफलहरू भने जारी रहेको स्राेतहरूको दाबी छ ।
पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रका नेताहरूबीच राष्ट्रिय सहमतिको सरकारका लागि छलफलले तीव्रता पाएको माओवादी स्राेतको दाबी छ । आइतबार संसद बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्रपक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको र प्रारम्भिक छलफलसमेत सुरु भइसकेको दाबी गरेका थिए । उनले गणतन्त्र पक्षधरको सरकार बनाउने विषयमा एमालेभन्दा कांग्रेससँग माओवादीको छलफल केन्द्रित रहेको खुलाए ।
पछिल्लो समय माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकारका लागि पहल गर्न एक उपाध्यक्ष र एक उपमहासचिवलाई कांग्रेस नेतासँग संवादका लागि खटाएको एक केन्द्रीय सदस्य बताउँछन् । ती केन्द्रीय सदस्यले भने, ‘दुई जना पदाधिकारी खटिनुभएको छ भन्ने सुनेका छौँ । गणतन्त्रविरोधीहरू सलबलाउन थालेका छन्, गणतन्त्रवादीहरू एक ठाउँमा हुनुपर्छ भन्नेबारेमा छलफल चलाइएको छ।’
राजावादीको चलखेल बढेको भन्दै २४ फागुनमा जागरण अभियान नै रोकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सबै नेताहरू मधेशबाट राजधानीकेन्द्रित भएका थिए । यो बीचमा प्रचण्ड सचिवालयले राष्ट्रिय सहमतिको सरकारका लागि दलहरूसँग छलफल सुरु भएको भन्दै सूचना प्रवाह गरेको चर्चा छ ।
तर, यो चर्चालाई एमालेले बेमाैसमी बाजा भनेको छ भने कांग्रेसले पनि अस्वीकार गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार बनाउने चर्चा बेमौसमी बाजा भएको बताए । उनले भने, ‘यस्तो बेलामा पनि भागवण्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोज्या हो ?’
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि वर्तमान गठबन्धन नै राष्ट्रिय सहमतिको सरकार भएको बताए । उनले नयाँ सरकार गठनको हल्ला भ्रम भएको बताए । उनले भने, ‘मुलुकको स्थायित्वका लागि वर्तमान सरकार गठन भएको हो । यसलाई तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल भएको छैन । नयाँ सरकार गठन हुने भ्रममा नपरौँ ।’
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको प्रस्टीकरण दिएका छन् । उनले तत्काल सरकारमा जाने कुनै नीति नरहेको बताए । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौँ । हामीले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ पनि । सरकारमा जानेबारे औपचारिक कुरा पनि भएको छैन ।'




















