राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध हुने प्रदर्शनका कार्यक्रमहरूमा सहभागी भई नेतृत्व लिने घोषणा गरेको छ । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्दै रास्वपाले सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने घोषणा गरेको हो ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा 'भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने' उल्लेख छ । दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई अँध्यारोको सकसबाट मुक्त गर्न मुख्य भूमिका निभाएका घिसिङलाई सरकारले बदनियतपूर्वक बर्खास्त गरेको भन्दै रास्वपाले आपत्ति जनाएको छ ।
'विद्युत् प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको शृंखलाअन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ ।संविधानले नचिन्ने दुईदलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरूबाट देशमा केही गरौँ भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,' विज्ञप्तिमा भनिएको छ ।


















