नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सभापति हुनमा गिरिजाप्रसाद कोइरालाको योगदान रहेको बताएका छन् । मंगलबार सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ नामक पुस्तक विमोचनका क्रममा देउवाले कोइरालालाई सम्झिए ।
‘गिरिजाप्रसाद कोइरालासँग धेरै उतारचढाब आए मेरो जीवनमा । मलाई उहाँले पार्टीबाट निकाल्नुभयो । मैले पार्टी फुटाएँ । त्यस्तो सम्बन्ध हो,’ गिरिजालाई सम्झिँदै देउवाले भने । उनले कोइरालालाई २०२४ सालमा नक्खु जेलमा चिनेको बताए । ‘मैले उहाँलाई नख्खु जेलमा हो चिनेको । हामीलाई पक्राउ गरेर लगेको थियो २४ सालमा । भेटेकै त्यहीँ हो । धेरै काम गर्ने मौका पाएँ । कहिल्यै नथाक्ने मान्छे हो उहाँ । उहाँजस्तो जुझारु कहिल्यै नथाक्ने मान्छे मैले देखेकै छैन । तपाईं बुढो मान्छे किन नथाकेको म त थाकिहाल्छु भन्थेँ । धेरै कुराहरू छन् उहाँसँगका,’ देउवाले भने । गिरिजाले पार्टीबाट निकालेकाले पार्टी फुटाएको र मिलौँ भनेपछि मिलेको देउवाले स्मरण गरे । ‘गिरिजाबाबुले फेरि मिलौँ भन्नुभयो, मिल्यौँ,’ उनले भने, ‘उहाँको योगदान छ म सभापति हुन पनि । राजा ज्ञानेन्द्रसँग उहाँ र म सँगसँगै लड्यौँ । मलाई राजाले थुनेको बेलामा उहाँ भेट्न आउनुभयो । जेलभित्र पनि जेलमा राखेका रहेछन् नि ! भन्नुभयो ।’


















