मनिष यादव / सिरहा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सिरहा नगरपालिका नगर कमिटीका अध्यक्ष दिपक यादवले जिल्ला हुलाक कार्यालय सिरहाका प्रमुखविरुद्ध २४ घण्टे अल्टिमेटम जारी गरेका छन्। प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा  यादवले हुलाक कार्यालयमा कर्मचारी नियुक्तिको प्रक्रियामा राजनीतिक चलखेल, अनियमितता, आर्थिक चलखेल र स्वेच्छाचारी निर्णय गरिएको आरोप लगाएका छन्।


एमाले नगर कमिटीको दाबीअनुसार, हुलाक कार्यालयले केही दिनअघि विभिन्न पदमा नियुक्तिका लागि आह्वान गरेको थियो। तर, प्रक्रिया निष्पक्ष नभई, आर्थिक चलखेल र पहुँचवालाहरुलाई नियुक्ति दिने उद्देश्यले गरिएको थियो। सोही कारण योग्य उम्मेदवारहरूलाई अन्याय गरिएको भन्दै नगर कमिटी अध्यक्षले तत्काल नियुक्ति प्रक्रिया बदर गरी योग्य उम्मेदवारलाई अवसर दिन माग गरेको छ।

1743034575634

पत्रमा नेपाल विधिको शासनमा चल्ने मुलुक भएको उल्लेख गर्दै, पहुँच, प्रभाव र चलखेलका आधारमा गरिएको नियुक्ति अस्वीकार्य रहेको जनाइएको छ। यदि २४ घण्टाभित्र माग पूरा नभए, संगठनले विरोधका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी दिएको छ।


यस विषयमा जिल्ला हुलाक कार्यालयका प्रमुखको प्रतिक्रिया लिन खोज्दा फोन उठेन।