काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट राजस्थान रोयल्समाथि कोलाकाता नाइट राइडर्सले सहज जित हासिल गरेको छ ।
गुवाहाटीमा बुधबार राति सकिएको खेलमा कोलकाताले आठ विकेटको सहज नतिजा ल्याएको हो ।
राजस्थानले दिएको १५२ रनको मध्यम लक्ष्य कोलकाताले मात्र दुई विकेट गुमाएर १५ बल बाँकी छँदै १५३ रन बनाएर पूरा गर्यो ।
कोलकाताको जितमा क्लिन्टन डी कक नायक बने । शतक बनाउनबाट तीन रनले चुकेका उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए । उनले ६१ बलमा अविजित ९७ रन बनाए ।
यस्तै अङ्क्रिस रघुबङ्शीले २२ रनको योगदान दिए । राजस्थानका लागि वनिन्दु हसारङ्गाले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।
राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३, यशस्वी जैसवालले २९ र कप्तान रियान परागले २५ रन बनाए ।
कोलकातामा चार बलरले दुई–दुई विकेट लिए । जसमा मोइन अली सबैभन्दा किफायती बन्न सफल रहे ।
जारी प्रतियोगितामा कोलकाताको दोस्रो खेलमा पहिलो जित हो भने राजस्थान समान दुई खेल खेल्दा जितविहीन छ ।






















