राजसंस्था पुनःस्थापनाका लागि शुक्रबार काठमाडौँको तीनकुनेमा भएको पूर्वराजा पक्षधरहरुको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा प्रहरीले राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धबलशमशेर राणालाई पक्राउ गरेको छ ।
अस्पतालमा घाइते भेटेर फर्किने क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शुक्रबारको प्रदर्शन हिंसात्मक गराउन नेतृत्व लिएका नेताहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शन हिंसात्मक हुनुमा दुर्गा प्रसाईँ, धबलशमशेर राणा र रविन्द्र मिश्रको मुख्य भूमिका रहेको विश्लेषण गरेको छ । उनीहरुलाई उपत्यका प्रहरी प्रभाग टेकुमा राखिएको छ । शुक्रबारको आन्दोलनमा प्रसाई आफैले गाडी हाँकेर प्रहरीलाई कुल्चेर नयाँ बानेश्वर जाने रणनीति बनाएको प्रहरी आरोप छ । त्यस्तै, राणा र मिश्रले प्रहरी घेरा तोड्न प्रदर्शनकारीलाई उक्साएका थिए । लगत्तै भीड भड्किएर तोडफोड, आगजनी र लुटपाटमा लागेको थियो ।


















