विनोद मण्डल / सिरहा । नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता सहितको टोलीले  पत्रकार हत्या, संचारमाध्यम माथि भएको आक्रमणमा संलग्नलाई कानुनी कार्वाही र          क्षतिपुर्तिको माग राख्दै सिरहाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । 


नेपाल पत्रकार महासंघको केन्द्रिय सर्कुलर अनुसार देशव्यापीरुपमा महासंघ जिल्ला शाखाको नेतृत्वमा सरकारलाई ज्ञापन पत्र बुझाईएको हो 


पत्रकारको हत्या, संचारगृह र संचारकर्मी माथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता सहितको पत्रकारहरुको टोली सदरमुकाम सिरहामा पुगेर सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै  सरकारको ध्यानाकर्षण गराएका छन  ।


शुक्रबार काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियानमा कारवाही गर्न तथा उनको परिवारलाई राहत प्रदान गर्न, संचारमाध्यम र संचारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका संचारगृह र संचारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले माग गरेको छ ।


 शुक्रबारको घटनापछि नेपाल पत्रकार महासंघले तय गरेको आन्दोलनको कार्यक्रम अन्तर्गत सिरहाका  पत्रकारले शुक्रबार लाहानमा नगर परिक्रमा गर्दै विरोध र्याली निकालेका थिए भने  शनिबार आ–आफ्नो हात र टाउकोमा कालोपट्टी बाँधेर रिपोर्टिङ्ग गरेका थिए ।