काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले दोस्रो जित दर्ता गरेको छ ।  

एम चिन्नास्वामी स्टेडियम, बेंगलुरुमा भएको खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) लाई ८ विकेटले पराजित गरेको हो । 

आरसीबीले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो । गुजरातका लागि जोस बट्लर ७३ र शेरफन रदरफोर्ड ३० रनमा अविजित रहे ।

३९ बलको सामना गरेका बट्लरले ६ छक्का र ५ चौका प्रहार गरे । यस्तै, १८ बल सामना गरेका रदरफोर्डले ३ छक्का र १ चौका प्रहार गरे । यसैगरी, साई सुदर्शनले ४९ र कप्तान शुभमन गिलले १४ रनको योगदान दिए । 

आरसीबीका लागि भुवनेश्वर कुमार र जोस हेजलवुडले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेको थियो ।

आरसीबीका लागि लियाम लिविङ्गस्टोनले सर्वाधिक ५४ रनको योगदान दिए । यस्तै, जितेश शर्माले ३३ र टिम डेभिडले ३२ रन जोडे । फिल साल्टले १४ र कप्तान रजत पाटीदारले १२ रन जोडेका थिए ।

गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । यस्तै, साई किशोरले २ तथा अर्शद खान, इशान्त शर्मा र प्रसिद्ध कृष्णले समान १-१ विकेट लिए ।

CG Group
Prabhu

जितसँगै गुजरात ३ खेलबाट ४ अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक नै जोडेको आरसीबी तेस्रो स्थानमा झरेको छ ।