काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेविसंघको प्यानलै निर्वाचित भएको छ । 

बिहीबार बिहान सकिएको मत गणनाअनुसार त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

नेविसंघकै बागी उम्मेदवार सागर न्यौपानेलाई पराजित गर्दै कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । कोइरालाले १ हजार २ सय १५ मत पाउँदा न्यौपानेले ६८३ मत पाएका छन् ।

तेस्रो भएका अनेरास्ववियुका प्रमित विष्टले ४३१ मत पाए ।  यसैगरी, सचिवमा नेविसंघकै आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम निर्वाचित भएका छन् । सचिवमा निर्वाचित नेविसंघका गिरीले ८५६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेविसंघकै बागी उम्मेदवार गौरव पाण्डेले ५८७ मन पाएका छन् । अनेरास्ववियुका सुमन पुलामीले ५२७ मत पाए ।

काेषाध्यक्षमा निर्वाचित भएका नेविसंघका गौतमले ८८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुवास विडारीले ५७३ मत पाए । नेविसंघकी बागी उम्मेदवार सुदीक्षा भट्टराईले ४०४ मत पाए ।



यसैगरी, सदस्यमा  नेविसंघका मनोज भण्डारी, राजन रोकाय, जेनिस काफ्ले, दिनेश कार्की, एन्ड्रोस सिंह र सपना खनाल निर्वाचित भएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीका एक-एक जना सदस्यमा निर्वाचित भएका छन् ।

अनेरास्ववियुबाट मनिषा चापागाईं र अखिल क्रान्तिकारीबाट मोहन बस्नेत सदस्यमा निर्वाचित भएका छन् ।