मनिष यादव  - सिरहा, – सिरहा जिल्लाको गोलबजार नगरपालिका–९ गोविन्दपुरमा १३ वर्षीया बालिका गुलसना खातुनको मृत्युको रहस्य खुल्दै गएको छ। मिति २०८१ साल फागुन २९ गते बिहान ९:०० बजे घाँस काट्न भन्दै घरबाट निस्केकी गुलसना खातुन घर नफर्किएपछि परिवारले मिर्चैया इलाका प्रहरी कार्यालयमा छोरी हराएको उजुरी दिएको थियो।


लगातारको खोजीपछि मिति २०८१ साल चैत १२ गते दिउँसो साढे १२ बजेको समयमा सोही स्थानस्थित घुर्मी खोलाको किनारमा एक बालिकाको शव फेला परेको थियो। मृतकको सनाखत उनका काका सफिजुल रहमानले गरेअनुसार शव गुलसना खातुनकै रहेको पुष्टि भएको हो।


प्रहरी अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २४ वर्षीय जनक भनिने बिर बहादुर सार्कीलाई मिति २०८१/१२/२४ मा पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बिर बहादुरले आफ्नै मकैबारीमा पाडो तथा अन्य जनावरबाट मकैको बाली जोगाउन विद्युतीय धराप लगाएका थिए।


उक्त धरापमा परेर गुलसना खातुनको घटनास्थलमै मृत्यु भएको खुलासा भएको छ। घटनापछि घबराएका बिर बहादुरले बालिकाको शव पहेलो बोरामा हालेर घुर्मी खोलाको किनारमा लगी खुर्पाले खाल्टो खनी पुतेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


घटनास्थलबाट बालिकाले घाँस काट्न लिएर गएको हँसिया, खुर्पा, रातो चप्पल र चामलको बोरा बरामद गरिएको छ। हाल बिर बहादुर सार्कीलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखी सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


स्थानीयहरू यस घटनाबाट स्तब्ध बनेका छन् भने मृतक परिवार न्यायको माग गर्दै आएका छन्। प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरो (CIB) को संयुक्त टोलीले घटनाबारे थप प्राविधिक अनुसन्धान गरिरहेको जनाएको छ।