त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुपतिबाट केशरजंग बरालले राजीनामा दिएको एक साताभन्दा बढी भइसक्यो । बरालले कुलपति तथा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएको १० दिन भइसक्दा पनि राजीनामा भने स्वीकृत भएको छैन ।
प्रधानमन्त्री ओलीले राजीनामा स्वीकृत गरेको जानकारी बराललाई दिएका छैनन् । अनि, त्रिवि ऐनअनुसार निमित्त उपकुलपति पनि दिएका छैनन् । उपकुपति बरालको राजीनामा स्वीकृत नगरेका प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएका पनि छैनन् । त्यसैले, त्रिविको दैनिक प्रशासनिक काम समेत समस्यामा परेको छ ।उपकुपतिको अनुपस्थितिमा शैक्षिक कार्यक्रम मात्र होइन, दैनिक प्रशासनिक काममा समेत प्रभाव पार्ने त्रिवि कर्मचारीहरू बताउँछन् । तर, ओलीले १० दिनदेखि त्रिविलाई अन्यौलमा राखेका छन् ।
प्रधानमन्त्री तथा कुलपति ओलीको कार्यशैलीकै कारण राजीनामा दिएको बरालले बताएका छन् । त्रिविको शैक्षिक सुधारका लागि प्रयास गर्दा प्रधानमन्त्री ओली र उनको निकट राजनीतिक दलका कार्यकर्ताबाट सहयोग नभएको बरालले उल्लेख गरेका छन् ।ओलीले सिनेटबाट त्रिविको वार्षिक बजेट पारित गर्ने बेलामा समस्या सिर्जना गरेका थिए । अनि, डिन नियुक्तिको समस्यामा पनि उपकुलपति बरालालाई अनावश्यक दबाब मात्र होइन, चेतावनी नै दिएका थिए ।
प्रधानमन्त्री निर्वाचित भएलगत्तै ओलीले त्रिविका उपकुलपति बराललाई निशानामा राखेका थिए । ओली मात्र होइन, एमाले महासचिव शंकर पोखरेल पनि उपकुलपति बरालविरुद्ध सामाजिक सञ्जालमै विरोधमा उत्रिएका थिए ।डिन नियुक्ति चरणमा ओलीले सिफारिशअनुसार नहुने भएपछि महासचिव पोखरेलल नै सामाजिक सञ्जालमा बरालविरुद्ध उत्रिएका थिए । मेरिटोक्रेसीको नाटक मञ्चनबाट आएको भन्दै उपकुलपति बरालको चर्को आलोचना गरेर पोखरेलले लामो स्टाट्स लेखेका थिए ।
सिंगो एमाले नै विरोधमा लागेपछि बाध्य भएर डीन नियुक्तिमा भागबण्डा भएको थियो । त्यससँगै त्रिविका एमाले र कांग्रेस निकट प्राध्यापक र कर्मचारीहरू खुलेर बरालविरुद्ध लागेका थिए ।


















