काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार अपराह्न काठमाडौंको साँखु, मूलपानी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार बंगालको खाडीबाट आएको वायु र स्थानीय वायुबाट बनेको प्रणालीले हल्का वर्षा भएको हो । 

महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, खोटाङ, लमजुङ, पाल्पा र सल्यानमा वर्षा भएको छ । वर्षा नभएपछि विगत केही हप्तादेखि खराब अवस्थामा रहेको काठमाडौंको वायुमा केही सुधार आएको छ ।



निरन्तर निकै खराब अवस्थामा रहेको वायु प्रदूषणमा बुधबार सुधार देखिएको छ । अहिले काठमाडौंको एक्यूआई १७७ छ भने भक्तपुरको १५६ र पाटनको १६१ छ । यो अवस्था पनि खराब नै हो । तर, यसअघि काठमाडौंको वायु प्रदूषण २७७ एक्यूआईसम्म पुगेको थियो । त्यसमा सुधार आएको हो । वर्षा भएपछि वायु प्रदूषणमा सुधार आउने अपेक्षा छ ।