बिरगंज । हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थितिले वीरगञ्जमा नयाँ वर्ष प्रभावित भएको छ । गत चैत ३० मा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कर्फ्यू)आदेशको कारणले वीरगञ्जवासीले नयाँ वर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।
नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधआज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन नपाएपछि स्थगित गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ पर्साकाका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए ।
‘नयाँ वर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधआज्ञाको कारणले होटल छाडेर फर्किनुभएको छ,’ उनले भने, ‘नयाँ वर्ष मनाउन आएका पाहुनापछि एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धरासायी हुने अवस्थामा पुगेको छ ।’
अध्यक्ष पन्तले विगतमा नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँवर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने बताए । तर, अहिले भने निषेधआज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाइरहेका छैनन् । नयाँ वर्षको पूर्वसन्ध्यामा निषेधआज्ञा चैत ३० गते बेलुका ६.३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर रुपमा निषेधआज्ञा जारी भएको थियो ।
नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भएको भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको उनले बताए । वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारे होटल पनि सञ्चालनमा रहेका छन् । वीरगञ्जका तारे होटलमा दियालो लडर्स प्लाजा, भिष्वा, क्लार्क रिसोर्ट, सुरज होटल लगायतका रहेका छन् ।
वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन् । ‘बन्द हड्तालको कारणले होटल मात्रै नभएर सबै खालका व्यापार व्यवसायमा प्रत्यक्ष असर पार्दै आइरहेका छन्,’ उनले भने, ‘बन्द, हड्ताल, निषेधाज्ञा लगायतका गतिविधि सधैँका लागि बन्द गर्नुपर्नेमा यस्तो गतिविधि हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुने गरेको छ ।’
एकातर्फ व्यापारिक तथा औद्योगिक सहरको छायाँ र अर्कोतर्फ पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कमीको कारणले पनि वीरगञ्जमा अपेक्षाकृत पर्यटक भित्रिन सकिरहेका छैनन् । सीमावर्ती रक्सौल नाका हुँदै मासिक हजारौँको सङ्ख्यामा भारतीय पर्यटक नेपाल आइरहेका हुन्छन् ।




















