कोशी प्रदेश सरकारले गर्ने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । लगानी सम्मेलन १८ देखि १९ वैशाखसम्म विराटनगरमा हुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी लगानी सम्मेलनमा पर्यटन, उद्योग, सूचना प्रविधि, कृषि, जलविद्युत्, पूर्वाधार निर्माणलगायत आठ क्षेत्रका ५४ योजनामा स्वदेशी, निजी क्षेत्र, गैरआवासीय नेपाली एवं प्रत्यक्ष वैदेशिक लगानीका १ खर्ब ३९ अर्ब ३० करोड ५२ लाख विभिन्न परियोजनामा प्रतिबद्धता आउने विश्वास गरिएको छ ।सम्मेलनले प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्ने विश्वास गरिएको छ । सम्मेलनबाट कोशी प्रदेश प्रमुख लगानीको गन्तव्यस्थलका रूपमा परिचित र स्थापित हुने अपेक्षा गरिनुका साथै प्रदेशको दोस्रो आवधिक योजनाले आर्थिक विकासमा लिएका लक्ष्य पूरा गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोच हासिल गर्न प्रत्यक्ष रूपमा सहयोग पुग्नेछ ।प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनले प्रदेशको औद्योगीकीकरण र रोजगारी सिर्जनामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए । उनले प्रदेशमा पुँजी निर्माणका लागि सम्मेलन आयोजना गरेको हो भन्दै यसमा निजी क्षेत्र, गैरआवासीय नेपाली र वैदेशिक लगानी भित्र्याउनु मुख्य उद्देश्य रहेको बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा औद्योगीकरणका लागि आवश्यक जग्गा लिजमा दिन, विद्युत् महसुल अनुदान दिने आवश्यक कानुन निर्माण गरी कोषको स्थापना गर्ने जानकारी दिए । उनले विगतको अनुभवका आधारमा भोलि कार्यान्वयनमा जाने योजनामा सम्झौता गरिने जानकारी दिँदै प्रदेशमा उद्योग स्थापनाका लागि एकद्वार प्रणालीमार्फत सहजताका लागि आवश्यक कानुन निर्माण र संशोधन गरिने बताए ।


















