काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने बताएका छन् ।

बिहीबार नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताए । उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने बातए ।

'हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामी सरकारमा छौँ,' प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्‌भावसहितको राष्ट्रिय एकता आवश्यक भएको र एमालेले त्यो कामको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले देश र पार्टीप्रतिको बफादारितालाई अझ बलियो बनाउनुपर्ने बताए । अध्यक्ष ओलीले ११ वैशाखमा लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गरे ।