काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा शुभकामना आदानप्रदानपश्चात द्विपक्षीय सम्बन्धका विषयमा महत्त्वपूर्ण संवाद भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको उल्लेख गरे ।

उनले दुई देशबीच भएको शान्ति तथा मैत्री सन्धिको १००औँ वर्षगाँठ सन् २०२३ मा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको स्मरण गरे । बेलायतलाई नेपालका प्रमुख विकास साझेदारको रूपमा उल्लेख गर्दै विपद्का घडीमा नेपाललाई प्रदान गरिएको सहयोगका लागि उनले धन्यवाद दिए ।

‘हाम्रा दुई मुलुकबीच राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा रहेको मित्रता अद्वितीय छ । पछिल्ला दिनहरुमा यो थप प्रगाढ हुँदै गएको छ,’ उपराष्ट्रपति यादवले भने, ‘ब्रिटिस गोर्खाले द्विपक्षीय जनस्तरको सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको सराहना गर्दछु ।’

उनले पूर्व ब्रिटिस गोर्खाका जायज गुनासा सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेका छलफललाई समयमै टुङ्गोमा पुर्याउन आवश्यक रहेको बताए । यही मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना हुने यस संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा बेलायतबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा उनले व्यक्त गरे ।