काठमाडौं । आज अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ । विभिन्न राजनीतिक दलमा आबद्ध मजदुर संगठनहरूले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गरेका छन् ।


राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । हरेक वर्ष धुमधामका साथ मजदुर दिवस मनाउने गरे पनि उनीहरूको अवस्था नसुध्रिएकोमा चिन्ता व्यक्त गरिँदै आएको छ ।


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नियमित रोजगारी गर्ने श्रमिक ११ प्रतिशतले घटेका छन् । प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ । देशभरका विभिन्न प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिक लगायतका श्रमिक कार्यरत छन् ।

majdoor-diwas-(10)-1746070790.jpg
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

majdoor-diwas-(8)-1746070789.jpg
नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । सरकारले मजदुर दिवसमा सार्वजनिक विदा दिने गरेको छ ।