सरकारले नागरिक उड्डयन र हवाई सेवासम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने भएको छ ।
शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हवाई सेवा र नागरिक उड्डयनसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने बताएका हुन् ।
'नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदको यसै अधिवेशनबाट पारित गरिनेछ,' राष्ट्रपति पौडेलले भने ।
यस्तै, सरकारले नेपालको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने नीति पनि लिएको उनले बताए । नारिक उड्डयन नियमनलाई प्रभावकारी बनाई हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने पनि सरकारको कार्यक्रम छ । हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाउँदै आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा विमानस्थल निर्माण एवम् विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै, नेपाललाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गर्ने र योग/ध्यानमार्फत सकारात्मक नेपाललाई आरोग्य र ध्यान पर्यटनको केन्द्रका रूपमा विस्तार गर्ने लक्ष्य नीति तथा कार्यक्रमले राखेको छ । पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


















