सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीबीच शनिबार भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह नेतृत्वको टोलीले शनिबार देहरादुनमा मुख्यमन्त्री धामीसँग भेटवार्ता गरेको हो ।
भेटमा नेपाल र भारतका नागरिकबीच रहेको सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताको विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । भेटमा मुख्यमन्त्री धामीले दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीमा धेरै समानता रहेको बताएका थिए ।
यस्तै, मुख्यमन्त्री शाह नेतृत्वको टोलीले उत्तराखण्ड प्रदेशका तीन विभागीय मन्त्रीहरूसँग पनि भेटवार्ता गरेको छ । वनमन्त्री सुवोद उनियाल, पर्यटनमन्त्री सतपाल महाराज र कृषिमन्त्री गणेश जोशीसँग छुट्टाछुट्टै भेटवार्ता भएको हो ।


















