आगामी जुनमा स्कटल्यान्डमा हुने विश्वकप लिग २ का लागि नेपाली टिम घोषणा भएको छ । नयाँ प्रमुख प्रशिक्षक स्टुअर्ट लले जिम्मेवारी सम्हालेपछि पहिलोपटक टिम घोषणा गरिएको हो । 

नेपाल क्रिकेट संघ (क्यान) को चयन समितिले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । टिमको उपकप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ । टिममा विशेषज्ञ स्पीनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् भने विशेषज्ञ फास्टबलरमा सोमपाल कामी, करण केसी, नन्दन यादव र रिजन ढकाल छन् । यादव र ढकाल बायाँहाते फास्टबलर हुन् । नन्दन यादव ओडीआई टिममा पहिलोपटक समावेश भएका हुन् । उनले एनपीएल, जय ट्रफी र पीएम कप तथा डीपीएलमा प्रभावशाली प्रदर्शन गरेका थिए । जसका कारण उनी टिममा सथन बनाउन सफल भएका छन् । रिजन ढकालले पनि एनपीएल अरु घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

नेपाली फास्ट बलिङको नेतृत्व भने सोमपाल कामीले गर्नेछन् । उनी घोषित टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् । करण केसीको प्रदर्शन अपएन्डडाउन भए पनि उनी टिममा अटाउन सफल भएका छन् । 

यस्तै विशेषज्ञ ब्याटरका रूपमा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अलि साह (विकेटकिपर), भीम सार्की र आरिफ शेख टिममा समेटिएका छन् । यीमध्येका भीम सार्कीको प्रदर्शन घरेलु प्रतियोगितामा राम्रो नभए पनि कोर क्याम्पमा गरेको प्रदर्शनका कारण उनी टिममा अटाएका छन् । 

अलराउन्डरले भरिएको टिममा दीपेन्द्रसिंह ऐरी र बसिर अहमद स्पीन अलराउन्डर छन् । दीपेन्द्र नेपालका सबैभन्दा भरपर्दा खेलाडी हुन् । टी २० प्रारुपमा उनको प्रदर्शन उच्च भए पनि ओडीआईमा भने उनको प्रदर्शन खस्किएको छ । तर पनि उनको उपस्थितिले मात्र टिमको मनोबल उच्च हुन्छ । बसिर भने घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय टिममा पर्न सफल भएका छन् । उनले एनपीएल, जय ट्रफी र पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी ब्याट र बलबाटै टिमका लागि जितमा योगदान दिन सक्ने खेलाडी हुन् । यस्तै टिममा फास्टबलर अलराउन्डरका रूपमा गुल्सन झा समेटिएका छन् । उनी राष्ट्रिय टिमका नियमित सदस्य हुन् । उनले नेपालका लागि धेरैपटक विनिङ प्रदर्शन गरिसकेका छन् । 

CG Group
Nepatop

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सबैको ध्यान खिचेका किरण ठगुन्ना भने टिममा अटाएनन् । तर उनी र लोकेश बम रिजर्भमा राखिएका छन् ।