राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कुनै पनि आधिकारिक निकायमा छलफल नै नगरी एकलौटी कार्यक्रम तय गरेको भन्दै विवाद बढेको छ ।

युवासँग अध्यक्ष भनेर एकलौटी तय गरिएको कार्यक्रमबारे केन्द्रीय कार्य समिति मात्र नभएर पूर्वअध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीसमेत बेखबर छन् । लिङ्देनले युवासँग अध्यक्ष भनेर जेठ १२ लाई कार्यक्रम तय गरेका छन् । कार्यक्रमको जानकारी गराउन उनले धुम्बाराही पार्टी कार्यालयमा मंगलबार बैठक डाके ।

४० वर्षमुनिका केन्द्रीय सदस्य भने पनि, पार्टी स्रोतअनुसार, सो उमेर समूहभन्दा माथिका अध्यक्षका खास खास मान्छे बैठकमा उपस्थित थिए । जनवर्गीय संगठनहरूमध्ये महिला र युवा संगठनभित्रका खास व्यक्तिहरू बैठकमा बोलाइएको थियो तर, विद्यार्थी संगठन, उत्पीडित संगठन, ट्रेड युनियन, किसान संगठन, भूपू सैनिक संगठन, शिक्षक संगठन, भूपू प्रहरी संगठन, आदिवासी जनजाति महासंघ, कानुन व्यवसायी संगठन, इन्जिनियर संगठन जस्ता कुनै वर्गीय संगठनलाई वैठकमा निम्तो थिएन ।

अध्यक्ष लिङ्देनले आफ्‌नो गुट छैन भन्ने कुरा गरेता पनि व्यवहार भने त्यस विपरीत गर्दै आएको आरोप राप्रपाभित्रै छ । ४० वर्षमुनिका केन्द्रीय सदस्यका लागि भनेर मंगलबार बोलाइएको बैठक पनि त्यसैको उदाहरण भएको राप्रपा नेताहरू बताउँछन् ।

भविष्य बोकेका नवयुवा जमातलाई पार्टी अध्यक्ष स्वयंबाट यसरी गलत अभिमुखीकरण हुनु, गुट उपगुटको गलत बाटो देखाउनु अत्यन्त पीडाको विषय भएकाे ४० वर्षमुनिका एक केन्द्रीय सदस्यले बताए ।

CG Group
Nepatop

पार्टीको कुनै पनि नियम वा निर्णयमा ४० वर्षमुनिका केन्द्रीय सदस्य भन्ने तह नभएको र यस प्रकारको वर्गीकरण र विभाजनलाई विधानले नचिन्ने असन्तुष्ट पक्षको आरोप छ ।

'यस किसिमको गलत कार्यक्रम र परम्पराले पार्टी एकतामा बल पुग्दैन । पार्टीको कुनै पनि वैधानिक तहमा अनुमोदन नगरी यस प्रकारको व्यक्तिकेन्द्रीत कार्यक्रम ल्याउन अध्यक्षलाई सुहाउँदैन । वास्तवमा यस्तो स्वेच्छाचारी कार्यलाई विधानले छुट दिएको छैन', एक केन्द्रीय सदस्यले भने ।