सिरहा । अति विपन्न वर्गका नागरिकलाई लक्षित गर्दै कर्जन्हा नगरपालिकाले सुरक्षित आवासका लागि १० वटा पक्की घर निर्माण गरी हस्तान्तरण गरेको छ। वडा नं. १ बल्टियामा निर्मित दुई कोठा, जस्ताको छाना र शौचालयसहितको घरहरू कर्जन्हा नगरपालिका, ह्याबिटाट फर ह्युम्यानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको सहकार्यमा तयार गरिएका हुन्।

कुल लागत ५८ लाख ६२ हजार ८९३ रुपैयाँ रहेको यस योजनाले घरविहीन तथा असुरक्षित आवासमा बस्दै आएका परिवारको जीवनमा नयाँ आशा थपेको छ।

घर पाएकी स्थानीय इना देवी सदाय भन्छिन्, पहिला खाने, बस्ने र सुत्ने ठाउँसमेत थिएन। पानी पर्दा कपडा, खाना भिज्थ्यो। अब त्यो सबै समस्या टरिसकेको छ।

शारीरिक अपांगता भएकी जैसनी सदायले माटो र खपरेको घरबाट पक्की घरमा सर्न पाउँदा निकै भावुक हुँदै खुशी व्यक्त गरिन्। अब सुरक्षित महसुस भएको उनके बताइन ।

नगर उप–प्रमुख लक्ष्मी कुमारी श्रेष्ठले घर पाएपछि महिलाहरूलाई सशक्त बनाउन शिलाइ–कटाइ तालिम दिने योजना रहेको बताइन्। महिलाहरूले घरमै बसेर आम्दानी गर्न सकून् भन्ने हाम्रो लक्ष्य रहेको बताए ।

नगर प्रमुख भोला पोख्रेलले घरलाई जीवनको आधारभूत आवश्यकता भन्दै यस्तो कार्यक्रमले विपन्न वर्गको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। मानिस दिनभर काम गर्छ, तर रातमा सुत्न सुरक्षित ठाउँ चाहिन्छ। त्यसैले हामीले घरलाई पहिलो प्राथमिकता दिएको बताए।

नगरपालिकाले हालसम्म वडा नं. १, ३, ४, ५, ७, ९, १० र ११ गरी आठ वडामा ८० वटा पक्की घर निर्माण गरिसकेको जनाएको छ।

नयाँ घर पाएका स्थानीय कुशमा सदाय र ककुल सदायले वर्षौंदेखि कच्ची घरमा दुखका साथ बस्दै आएको स्मरण गर्दै अब सुरक्षित र सम्मानजनक जीवन सुरु हुने विश्वास व्यक्त गरे।

कर्जन्हा नगरपालिकाको यो प्रयासले विपन्न वर्ग मात्र होइन, समग्र समाजका लागि पनि सकारात्मक सन्देश दिएको छ। स्थानीय सरकारले ल्याएको यो परिवर्तनले अन्य पालिकाहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। समाचार राताे मसी बाट