स्पेनिस ला लिगको उपाधि रोमाञ्चक मोडमा पुगेको छ । गए राति भएको खेलमा रियल मड्रिडले मालोर्कालाई पराजित गरेसँगै लिग लिडर बार्सिलोनासँगको अंक दूरी घटाएको छ ।
गए राति भएको खेलमा रियल मड्रिडले मालोर्कालाई २-१ गोल अन्तरले पराजित गर्यो । खेलको ११औँ मिनेटमा गोल गर्दै मालोर्काका मार्टिन भालजेन्टले टिमलाई अग्रता दिलाएका थिए ।
तर रियलका लागि ६८औँ मिनेटमा किलियन एम्बाप्पे र खेलको इन्जुरी समयमा जाकोब रामोनले गोल गर्दै जित सुनिश्चित गरे ।
मालोर्कालाई पराजित गरी ३ अंक बटुलेसँगै रियल मड्रिडले बार्सिलोनासँगको अंक दूरी घटाएको हो । जारी सिजनमा लिगमा हालसम्म ३६ खेल खेलेको रियलको ७८ अंक छ । शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८२ अंक छ ।
तेस्रो स्थानको एट्लेटिको मड्रिडको ३५ खेलबाट ७० अंक छ भने चौथो स्थानको एथ्लेटिक बिलबाओको ६४ तथा पाँचौँ स्थानको भिल्लारियलको पनि ६४ नै अंक छ ।


















