परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।  

शुक्रबार परराष्ट्रमन्त्री डा. राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच साइडलाइन भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध आयामका साथै आपसी हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकोमा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद दिएकी थिइन् । नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा शुक्रबार समझ्दारी पत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरूले उक्त सम्झौता दुई देशका लागि महत्त्वपूर्ण रहेको पनि बताएका थिए ।

नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, औपचारिक बैठक, विविध विषयमा भेटमा कुराकानी भएको थियो । साथै जलवायु परिवर्तनको मुद्धा नेपाल र भारतको साझा मुद्धा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उनीहरूबीचमा कुराकानी भएको थियो ।

सगरमाथा संवादमा सहभागिता जनाउन भारतीय मन्त्री यादव बिहीबार काठमाडौं आएका थिए ।