कर्णाली प्रदेशको मुगु छायाँनाथ रारा नगरपालिका– ११ मा अवस्थित राराताल पछिल्ला वर्षहरूमा विदेशी पर्यटकहरूका लागि विशेष आकर्षणको केन्द्र बन्दै गएको छ । शान्त वातावरण, अकल्पनीय प्राकृतिक सौन्दर्य र जैविक विविधताको संगमले राराताललाई नेपालकै अनुपम गन्तव्य बनाइदिएको छ । दिनहुँ जसो स्वदेशीसँगै विदेशी पर्यटकहरू राराको रमणीय दृश्य हेर्न पुगिरहेका छन् । मुगुको ताल्चा विमानस्थलमा रारा हेर्नका लागि दैनिकजसो विदेशी पर्यटकहरू आइरहेको ताल्चास्थित वसन्त गेस्ट हाउसका रवि रावलले बताए । समुद्री सतहदेखि २९७२ मिटर उचाइमा रहेको राराताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो ।
-1747389689.jpeg)
यसले ५.१ किलोमिटर लम्बाइ र २.७ किलोमिटर चौडाइ ओगटेको छ । यो ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्छ, जहाँ ५१ प्रजातिका स्तनधारी जनावर, २१४ प्रजातिका चराहरू र विभिन्न दुर्लभ वनस्पतिहरू पाइन्छन ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १० हजार ५ सय ७९ पर्यटकले राराताल भ्रमण गरेका थिए । तीमध्ये १० हजार ३ सय ४१ जना आन्तरिक, ४३ जना सार्क मुलुकका र १ सय ९५ जना अन्य विदेशी मुलुकका थिए । सो अवधिमा निकुञ्जबाट झण्डै ३० लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो ।
चालु आर्थिक वर्षमा रारा घुम्न आउनेको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको होलिडे ट्रिप नेपाल ट्राभल एन्ड टुरका प्रबन्ध निर्देशक रोहित कार्कीले बताए । हाल राराताल क्षेत्रमा बसोबासका लागि पूर्वाधार निकै सीमित छन । डाँफे चमेनागृहमा केही समयअघि भएको आगलागीका कारण त्यो बन्द अवस्थामा छ । हाल सञ्चालनमा रहेको एक मात्र व्यवस्थित होटल भिलेज हेरिटेज रिसोर्ट हो, जसमा सीमित कोठा मात्र छन । त्यसैले बढ्दो पर्यटक चापमा आवास व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको छ देखिन्छ भने रारा तालनजिकै वरपर होमस्टे र होटलहरू भने प्रशस्त छन् । यी होमस्टे र होटलले हाल रारा घुम्न आउने पर्यटकलाई सेवा दिइरहेका छन् ।
राराका गाउँमा पाइने अर्ग्यानिक स्वादले पर्यटकहरूको मन भुल्याएको छ । रारावरपर ३५ भन्दा बढी होटल तथा होमस्टे रहेको भिजिट कर्णाली टुर एन्ड ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक राजु कार्कीले बताए । अहिले रारा घुम्न आउनेहरूका लागि ट्राभल्सले प्याकेजमै सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।
रारामा २ सय ५० भन्दा बढी घोडा पर्यटकलाई घुमाउन प्रयोग गरिएका छन् । यातायात पहुँचतर्फ हेर्दा अधिकांश पर्यटकहरू हवाई मार्ग प्रयोग गर्छन् । तर, सडकमार्ग प्रयोग गर्नेहरू पनि रारा हेर्न र घुम्न पुगिरहेका छन ।
स्थानीय निकाय, पर्यटन व्यवसायी र प्रदेश सरकारको संयुक्त प्रयासमा राराताल क्षेत्रको प्रवर्द्धन तथा पूर्वाधार विस्तारमा काम भइरहेको छ । यदि यातायात, आवास र सञ्चारजस्ता आधारभूत सेवाको पहुँच पुर्याउन सके रारातालले अझै धेरै विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना देखिएको एक व्यवसायी बताउँछन् ।


















