प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइदै गरेको टिप्पणी गरेका छन् ।
आज बिहान फेसबुकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई सम्बोधन गर्दै पोस्ट गरेको स्टाटसमा रिमालले लेखेका छन्, 'सजग रहनुहोला, बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइँदै छ । बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो ।'
रिमालले शाक्य आफ्नो काममा इमानदार र काबिल भएको पनि उल्लेख गरेका छन् । 'तपाईं नेपाल विद्युत् प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ,' शाक्यलाई सम्बोधन गर्दै रिमालले लेखेका छन् ।
कसैलाई देवत्वकरण गर्न न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीले समाजमा गहिरो भ्रम छरेको उनको टिप्पणी छ । 'देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यसविपरीत गहिरो भ्रम छरिरहेका छन्,' उनले भनेका छन्, 'समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ ।'
उनले आफ्नो कर्ममा अडिग रहन शाक्यलाई सुझाव दिएका छन् । 'अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन् । यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन- किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन,' रिमालले भनेका छन्, 'त्यसैले, सजग रहनुस्- काम गर्नुस्, तर ध्यान दिनुस्- कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन् । कर्ममा अडिग रहनुहोस्, तर 'कन्टेन्ट' को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस् ।'




















