काठमाडौ ।सामाजिक सुरक्षा कोषद्वारा १० दिनमा १९ करोड दाबी भुक्तानी
काठमाडौं- सामाजिक सुरक्षा कोषले दश दिनमा १९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले वैशाख २१ गतेदेखि जेठ १ गतेसम्ममा उक्त रकम भुक्तानी गरेको हो ।
कोषले यही वैशाख २१ गते १४ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको थियो । कोषले बिहीबार जारी गरेको तथ्यांकमा हालसम्ममा १४ अर्ब ५३ करोड दाबी भुक्तानी गरिएको उल्लेख गरेको छ ।
कोषले हालसम्ममा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब ९२ करोड ९७ लाख २४ हजार १२२ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १८ करोड ९४ लाख ८८ हजार ७५६ रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।
आश्रित परिवार सुरक्षा योजनामा २३ करोड १९ लाख ७ हजार ५०३ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस्तै वृद्ध अवस्था सुरक्षा योजनामा १२ अर्ब १८ करोड ६२ लाख ७२ हजार ६३५ रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।
कोषमा सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनामा ६५ अर्ब १३ करोड ८८ लाख १६ हजार ५३४ रुपैयाँ योगदान रकम संकलन भएको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ५ अर्ब ३४ लाख ३७ हजार ६३८ रुपैयाँ योगदान संकलन भएको छ ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब २२ करोड ४३ लाख ६७ हजार ६३२ रुपैयाँ संकलन हुँदा अतिरिक्त योगदान १ अर्ब ३७ करोड ५१ लाख ४५ हजार ७७२ रुपैयाँ संकलन भएको कोषले जनाएको छ ।
कोषमा औपचारिक क्षेत्रका श्रमिक २०७६ साउन १ गते देखि, वैदेशिक रोजगारीका श्रमिक २०७९ चैत ८ गतेदेखि र स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिक २०८० साउन ३१ गतेदेखि आबद्ध हुन थालेका थिए । हाल कोषमा आबद्ध हुनेको संख्या २२ लाख ३१ हजार ६५९ जना पुगेको छ ।
कोषका अनुसार सबैभन्दा बढी वैदेशिक रोजगारको क्षेत्रबाट १६ लाख ४८ हजार ८७ जना आबद्ध भएका छन् । अनौपचारिक क्षेत्रबाट ४६१ जना स्वरोजगारबाट ३५१ जना आबद्ध भएका छन्।
प्रदेशगत आधारमा सबैभन्दा बढी बागमती १३ हजार ९४३ रोजगारदाता मार्फत ४ लाख ४२ हजार ६९० जना आबद्ध भएका छन् । यस्तै कोशी २ हजार २०४ रोजगारदाता मार्फत ६१ हजार ६२५ जना, मधेस प्रदेशमा १ हजार ८५ रोजगारदाता मार्फत २८ हजार ७३६ जना आबद्ध भएका छन् ।
गण्डकीबाट १ हजार २७ रोजगारदाता मार्फत २३ हजार ८२९ जना, लुम्बिनीबाट १ हजार ६९१ रोजगारदाता मार्फत २० हजार ७०१ जना , कर्णालीबाट २७४ रोजगारदाता मार्फत २ हजार १८३ जना आबद्ध हुँदा सुदूरपश्चिमबाट ३०२ रोजगारदाता मार्फत २ हजार ९९६ जना आबद्ध भएको कोषले जनाएको छ ।
के छ नीति तथा कार्यक्रममा
सरकारले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा कोष सुदृढीकरण रणनीति कार्यान्वयन गरिनेछ भनेर उल्लेख गरेको छ । सबै प्रकारका, जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने गरी कोषको भूमिका र दायरालाई विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै अब अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने कानुनी व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सङ्गठित संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण संलग्न गर्नुपर्ने कानुनी व्यवस्था गरिने पनि उल्लेख गरिएको छ ।


















