गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितहरूलाई तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्री लेखकले विस्थापितहरूका लागि तत्काल हेलिकोप्टरबाट राहत सामग्री र स्थलगत अध्ययनका लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिए । बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूको खानेबस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए । राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिए ।
हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएको खबर छ । त्यसैगरी बैठकमा मन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिए । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सातवटै प्रदश र ७७ वटै जिल्लाका सुरक्षा समितिसंग बैठक छलफल गरि प्रिमनसुन पूर्व नै तयारी थाःन निर्देशन दिएका हुन् ।
साथै विपद् प्रतिकार्यमा निजी सघ, संस्थाहरूसँग भएको स्रोत साधन र क्षमतालाई समेत उपयोग गर्ने गरी समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाउन मन्त्री लेखकले जोड दिए । त्यसैगरी बैठकमा बोल्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए । उनले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए । बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।


















