इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरणको अन्तिम खेलमा लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) पहिलो क्वालिफायरमा पुगेको छ।
मंगलबार लखनऊको अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा भएको खेलमा आरसीबीले टस जितेर पहिले बलिङ रोजेको थियो। लखनऊले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनायो। लखनऊका कप्तान ऋषभ पन्तले शानदार अविजित ११८ रन बनाए, तर टिमको हार टार्न सकेनन्। मिचेल मार्शले ६७ रन जोडे। आरसीबीका भुवनेश्वर कुमारले १ विकेट लिए।
जवाफी ब्याटिङमा आरसीबीले २२८ रनको विशाल लक्ष्य १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। आरसीबीलाई ऐतिहासिक जित दिलाउन स्ट्यान्ड-इन कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रनको विस्फोटक पारी खेले। यो आईपीएल इतिहासमा आरसीबीको सबैभन्दा ठूलो सफल रन चेज हो। विराट कोहलीले ५४ रन बनाए भने मयंक अग्रवालले पनि महत्वपूर्ण योगदान दिए। लखनऊका विलियम ओ’रुर्कले २, आवेश खान र आकाश सिंहले समान १-१ विकेट लिए।
यो जितसँगै आरसीबीले लिग तालिकामा दोस्रो स्थान हासिल गर्दै पहिलो क्वालिफायरमा पञ्जाब किंग्ससँग बिहीबार (भोलि) खेल्ने छ। हारसँगै लखनऊ भने प्लेअफबाट बाहिरिएको छ।


















