काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थान र बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिमलगायत पहाडी भू-भागमा बदली हुनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भू-भागका केही र बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


















