छिमेकी मुलुक भारतमा कोभिडका संक्रमितको संख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा सतर्कता अपनाउन थालिएको छ । भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको हो । 

पर्साको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमानसिंह वीरगञ्ज नाकामा स्थापना गरिएको सहायता कक्ष (हेल्थ डेस्क)को निरीक्षण गर्दै छिमेकी मुलुक भारतमा कोभिडका संक्रमितको वृद्धि भएकाले नाका प्रदेशमा सतर्कता अपनाउन जरुरी रहेको बताए ।

'छिमेकी मुलुकमा बढ्दै गएको कोभिड संक्रमणलाई ध्यान दिँदै फैलन नदिन विशेष सर्तकता अपनाउन थालिएको हो,' उनले भने, 'नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको छ ।' 

महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको व्यवस्थापन गरिएको छ । स्वास्थ्यकर्मी इब्राना खातुनले रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम जाँच अनिवार्य गरिएको उनले बताए ।  उनका अनुसार हेल्थ डेस्कमा सात जना स्वास्थ्यकर्मी खटिएका छन् ।