काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र हुँदै गर्दा मधेशकी युवा नेतृ अञ्जना शिवाकोटीको नाम अध्यक्ष पदका लागि अग्रपंक्तिमा उभिएको छ। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा अध्यक्षको आकांक्षीको भीडबीच अञ्जनाले आफ्नो अलग छवि बनाउन सफल भएकी छन्।


३२ वर्ष उमेरहदसहितको नयाँ कार्यविधि अनुसार योग्य उम्मेदवारको खोजी भइरहँदा अञ्जना नारी नेतृत्वको सशक्त प्रतिकको रूपमा देखिएकी छन्। सर्लाहीकी स्थायी बासिन्दा अञ्जना हाल अनेरास्ववियुकी केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्जका रूपमा सक्रिय छन्। मधेशको चुनौतीपूर्ण राजनीतिक वातावरणमा एमालेको विद्यार्थी संगठनलाई पहिलो स्थानमा पुर्‍याउन उनले खेलेको भूमिका उल्लेखनीय रह्यो।


भर्खरै सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु मधेश प्रदेशमा पहिलो स्थानमा आउनु अञ्जनाको नेतृत्व क्षमताको प्रतिफल मानिन्छ। पार्टी अध्यक्ष केपी शर्मा ओली समेत अञ्जनाको कार्यशैलीबाट सन्तुष्ट रहेको स्रोतहरू बताउँछन्। ओली नेतृत्वको एमालेले मधेश प्रदेशको नाम ‘जानकी’ राख्ने प्रस्ताव अघि सारेको सन्दर्भमा अञ्जनाको उम्मेदवारीले त्यस प्रस्तावलाई थप महिलामैत्री र समावेशी सन्देश दिनसक्ने विश्लेषण गरिएको छ।


अनेरास्ववियुका अघिल्ला अध्यक्षहरू रामकुमारी झाँक्री, नविना लामा र सुनीता बरालपछि अञ्जना चौथो महिला अध्यक्ष बन्ने हो भने त्यो एमालेका लागि ऐतिहासिक क्षण हुनेछ। “म महिला नेतृको हैसियतमा मात्र होइन, सशक्त नेतृत्व दिन सक्ने क्षमताका आधारमा अध्यक्ष बन्न चाहन्छु,” अञ्जनाले भनिन्।


पहाड मूलकी नेपाली भाषी भए तापनि अञ्जना मधेशमा प्रभावशाली रूपमा स्थापित भएकी छन्। विद्यार्थी आन्दोलनदेखि संगठन विस्तारसम्म उनको संलग्नता निरन्तर रहँदै आएको छ। अन्तर्राष्ट्रिय स्तरकी तेक्वान्डो खेलाडी समेत रहेकी अञ्जनाको बहुआयामिक व्यक्तित्वले उनलाई अरु आकांक्षीभन्दा अलग पहिचान दिएको छ।


काठमाडौंका मिडियामा समेत प्रमुख स्थान पाउने अञ्जना नेतृत्वमा अनेरास्ववियुलाई सबै तह र तप्काका विद्यार्थीहरूका लागि अझ प्रभावशाली बनाउने दृष्टिकोण राख्छिन्। एमालेले ल्याएको संगठन संरचनाको नयाँ ढाँचाअनुसार अध्यक्षसहित ९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ। यस्तो संरचनामा प्रतिनिधित्वको विविधता र सन्तुलन आवश्यक पर्ने हुँदा अञ्जनाको उम्मेदवारीले थप महत्व पाएको छ।


महाधिवेशन जेठ २५ गतेदेखि कीर्तिपुर, काठमाडौंमा सुरू हुँदैछ र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। जेठ २८ गतेसम्म चल्ने अधिवेशनमा नेतृत्व चयनको अन्तिम निर्णय हुनेछ।


मधेश र महिला नेतृत्वको सशक्त प्रतीक बनेकी अञ्जना शिवाकोटीको अभियानले एमालेको समावेशी नेतृत्व दर्शनलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।