कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । गण्डकी प्रदेशका केही स्थानमा, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षासमेत भइरहेको छ ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।