सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न सरकारले पहल गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषको सहकार्यमा नेपाल पत्रकार महासङ्घद्वारा आज पोखरामा आयोजित सामाजिक सुरक्षा कोषमा बृहत् आबद्धतासम्बन्धी पत्रकारसँगको संवाद कार्यशालामा सञ्चारमन्त्री गुरुङले सञ्चार मन्त्रालय मातहतका संस्था र निकायमा क्रमिक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम लागू गर्दै जाने उल्लेख गरे ।

'ठूला सञ्चार गृह सामाजिक सुरक्षा कोषमा आबद्ध भइरहेका छन्, क्रमशः सबै सञ्चार गृह र तिनमा कार्यरत पत्रकार तथा कर्मचारीलाई पनि कोषमा आबद्ध गर्नुपर्छ', मन्त्री गुरुङले भने, 'सरकारको नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउने विषयमा स्पष्ट उल्लेख छ, यसमा सबैको सकारात्मक बुझाइ र पहलको खाँचो छ ।'

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र आर्थिक सुरक्षाका लागि हरेक रोजगारदाता कम्पनी सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने उनको भनाइ थियो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आमसञ्चार विधेयक मस्यौदाको काम भइरहेको जानकारी दिए । उक्त विधेयकले सञ्चारसम्बन्धी सम्पूर्ण विषयलाई व्यवस्थित गर्ने बताए ।

'आमसञ्चार प्राधिकरण, तालिम प्रतिष्ठानलगायत विषयलाई विधेयकले समेट्नेछ', उनले भने, 'मिडिया काउन्सिल विधेयक पनि छिट्टै पारित हुने प्रक्रियामा छ, सामाजिक सञ्जाल नियमनका लागि सरकारले कानुन ल्याउँदैछ ।'