मलेसियामा आजदेखि एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार प्रतियोगिता आयोजना गरिएको हो ।
नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल आजै सिंगापुरविरुद्ध खेलिरहेको छ । मलेसियाको युकेएम ओभल मैदानमा खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजे सुरु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि विपिन शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । टोलीको उपकप्तानमा सुर्यांशु कोइराला छन् । अन्य सदस्यहरूमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन् । प्रशिक्षकमा दिपेन्द्रबहादुर चन्द छन् ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, सिंगापुर, इण्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।
नेपाल यसअघि सम्पन्न तीनवटै संस्करणको च्याम्पियन हो ।
नेपालले दोस्रो खेल मङ्गलबार जापानसँग, तेस्रो खेल यही असार १५ गते इण्डोनेसियासँग र समूह चरणको अन्तिम खेल असार १७ गते भुटानसँग खेल्ने तालिका छ । प्रतियोगिताको सेमिफाइनलमा दुवै समूहका विजेता र उपविजेता टोली प्रवेश गर्नेछन् ।



















