काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ ।

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको बताएका छन् ।

'नतिजा प्रकाशनका लागि केही प्राविधिक काम बाँकी छन् । ती काम सकिएपछि नजिता प्रकाशन हुन्छ । अहिले अन्तिम चरणको काम चलिरहेको छ,' उनले भने । अध्यक्ष शर्माका अनुसार शुक्रबार साँझ वा आइतबारसम्म एसईईको नतिजा प्रकाशन हुनेछ । 

नतिजा सार्वजनिक गर्नुअघि परीक्षा बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ । त्यसका लागि बोर्डको बैठक बोलाइएको परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले बताए । उनका अनुसार बैठक साढे १२ बजेपछि बस्नेछ ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । २०८१ को एसईई परीक्षा ७ देखि १९ चैतसम्म सञ्चालन भएको थियो ।