सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । 

रामधुनी नगरपालिका-७, बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकल र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी  प्रदेश १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकलमा सवार रामधुनी-६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिश चौधरी र  को ३३ प ९६०५ नम्बरको मोटरसाइकलमा सवार इनरुवा नगरपालिका-६ का ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो ।

सुनसरी प्रहरीका प्रवक्ता तथा डीएसपी योगराज खतिवडाका अनुसार, मृतक इनर्चन ५८६४ नम्बरको मोटरसाइकल र यादव ९६०५ नम्बरको मोटरसाइकलका चालक हन् । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा रामधुनी-६ की ३२ वर्षीया प्रतीक्षा चौधरी र इनरुवा-७ का ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी खतिवडाले जानकारी दिए । प्रहरीका अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा भएकाले आपसमा ठोक्किएका हुन् ।