नेपाली महिला क्रिकेट टिमले पहिलो पटक टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुगेर इतिहास रचेको छ । विश्वकपको एसिया क्षेत्रीय छनोटको सुपर थ्रीको उपविजेता बनेर नेपाल ग्लोबल छनोटमा पुग्न सफल भयो । नेपाली महिला क्रिकेट टोलीले अहिलेसम्म प्राप्त गरेको यो सबैभन्दा ठूलो सफलता मानिएको छ ।
थाइल्यान्डको राजधानी बैङ्ककमा भएको छनोटको सुपर थ्रीमा युएईलाई पाँच विकेटले पराजित गरेको नेपालले अन्तिम खेलमा थाइल्यान्डद्वारा ७८ रनले पराजित भयो । यो खेल जितेको भए नेपालले एसिया च्याम्पियनको उपाधिसमेत जित्ने थियो । यसपालि नेपाललाई भाग्यले साथ दियो र विश्वकप ग्लोबल छनोटमा छानिन सफल भयो ।
किनकि समूह चरणमै भाग्यले साथ दिएका कारण सुपर थ्रीमा पुग्न नेपाल सफल भएको थियो । यदि वर्षाले खेल रद्द नभएको भए हङकङले बहराइनलाई हराएमा नेपाल बाहिरिएर हङकङ सुपर थ्रीमा पुग्न सक्दथ्यो । वर्षाले खेल रद्द हुँदा हङकङले अङ्क बाँड्यो र अङ्क बराबरी भयो । साथै नेट रन रेट हङकङको राम्रो भए पनि बढी जितको आधारमा नेपाल अर्को चरणमा पुग्न सफल भयो ।
आइसिसीको नियम अनुसार डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीबीच अङ्क बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान रहेको छ । नेपालको चार खेलमा दुई खेलमा जित तथा एकमा हार बेहोरेको थियो भने एक नतिजाविहीन भयो । हङकङको समान खेलमा एकमा जित र तीन खेल नतिजाविहीन भएको थियो ।


















