मनु यादव निरज।सिरहा, ।‘बेटी पढाउ, बेटी बचाउ’ नारालाई व्यवहारिकरूपमा लागू गर्दै श्री बाला सुन्दरी माध्यमिक विद्यालय, भगवानपुरका विद्यार्थी भाइबहिनीहरूले आज मानव अधिकार तथा लैङ्गिक समानताप्रति जागरूकता फैलाउने उद्देश्यसहित वृहद् र्याली निकालेका छन्।
र्याली भगवानपुर चौकदेखि आसपासका विभिन्न मार्ग परिक्रमा गर्दै पुनः चौकमै आएर कोणसभामा परिणत भएको थियो। विद्यार्थीहरूले छोरीको शिक्षा अधिकार, बालविवाह न्यूनिकरण, भेदभाव अन्त्य, सुरक्षित भविष्य र समान अवसर जस्ता सन्देशयुक्त प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, स्थानीय अभिभावक तथा समुदाय प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले समाजमा अझै कायम लैङ्गिक असमानता र छोरीप्रति हुने विभेद अन्त्य गर्न शिक्षा नै मुख्य आधार भएको र छोरीलाई गुणस्तरीय तथा सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराउनु सबैको सामूहिक दायित्व रहेको धारणा व्यक्त गरे।
अभियानले समुदायस्तरमा ‘छोरीलाई शिक्षाले सशक्त बनाउँछ’ भन्ने सन्देश बलियो बनाउँदै सचेतना प्रवाहमा महत्वपूर्ण प्रभाव पारेको विद्यालयले जनाएको छ।


















