मनु यादव निरज : सिरहा — सिरहाको नवराजपुर गाउँपालिका वडा नं. ३ मा दलित परिवारका लागि निर्माण भइरहेको सुरक्षित आवास योजनाको कार्यलाई जनप्रतिनिधिहरूले स्थलमै पुगेर अनुगमन गरेका छन्।


वडा अध्यक्ष पदका प्रत्यासी रामसुरेश यादवको अगुवाइमा मधेश प्रदेशसभा क्षेत्र नं. २ ‘क’ का सांसद संजय यादवले करिब एक दर्जनभन्दा बढी आवास भवनको निर्माण प्रगतिबारे अवलोकन गरेका हुन्।


अनुगमन टोलीले विशेषगरी नवराजपुर–३ फुलबरीया दोनबार टोलमा अमर सदाको घर निर्माण कार्यको निरीक्षण गर्दै गुणस्तर, कामको गति तथा आवश्यक सामग्री व्यवस्थाबारे जानकारी लिएको छ। बाँकी घरहरूको काम पनि मंगलबारदेखि निरन्तर अघि बढ्ने जनाइएको छ।


स्थानीय तह निर्वाचन २०७९ मा जनमत पार्टीबाट वडाध्यक्ष पदका प्रत्यासी बनेका रामसुरेश यादव किसान परिवारका सरल, इमानदार तथा वडा बासीबीच लोकप्रिय युवा नेता रहेको स्थानीय समाजसेवी शिक्षक संताेष यादवले बताए।


सुरक्षित आवास कार्यक्रममार्फत दलित समुदायको बसोबास स्तर सुधार र सामाजिक सशक्तिकरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा स्थानीयवासीले व्यक्त गरेका छन्।