मुकेश यादव : सिरहा । कडाको चिसोबीच जनताको दुःख–पीडासँग प्रत्यक्ष रूपमा जोडिएको राहत जिम्मेवारी बहन गर्नुपर्ने स्थानीय सरकार मौन बसिरहेको बेला डिभिजन वन कार्यालय लहान सक्रिय बनेको छ। चिसो छल्नका लागि डिभिजन वन कार्यालयले बुधबार बरियारपट्टी बजार क्षेत्रमा सर्वसाधारणलाई निःशुल्क दाउरा वितरण गरेको हो।
डिभिजन वन कार्यालयका प्रमुख सेलेन्द्र मिश्राको नेतृत्व र रेन्जर अशोक साहको पहलमा गरिएको दाउरा वितरण कार्यले स्थानीय सरकारको तयारी अभाव र गैरजिम्मेवारीप्रति प्रश्न उठेको छ।
चिसोले जनजीवन कष्टकर बनेको बेला पनि स्थानীয় तहले राहत कार्यक्रम नल्याएको भन्दै स्थानीयहरू क्षुब्ध बनेका छन्। स्थानीयवासी जितेन्द्र साह भन्छन्,
“स्थानीय सरकारले गर्नुपर्ने काम वन कार्यालयले गरेको छ। सेलेन्द्र सर साँच्चिकै सहयोगी स्वभावका हुनुहुन्छ। सरकार भने झैँ–झैँ मात्र गर्छ।”

त्यसैगरी राधेश्यामका अनुसार,
“जाडोले जनता काँपिरहेका छन्, तर स्थानीय सरकार कुर्सीमै निदाएको छ। अब जिम्मेवारीबाट भागेर हुँदैन,” भन्दै उनले तत्काल कदम चाल्न माग गरे।
स्थानीयवासीहरूको भनाइमा, चुनावका बेला आश्वासन बाँडेर सत्तामा पुगेका जनप्रतिनिधि सङ्कटको घडीमा अदृश्य हुने प्रचलन लोकतन्त्रकै उपहास हो। “जनताको करबाट तलब भत्ता खानेहरू संकटमा नदेखिनु लज्जास्पद छ,” उनीहरूको आरोप छ।
बरियारपट्टीको घटनाले स्थानीय सरकारको प्राथमिकता र संवेदनशीलताप्रति गम्भीर प्रश्न खडा गरेको छ। चिसो अझै बढ्दै गएकाले जनताले अब आश्वासन होइन, तत्काल राहत, योजना र जवाफदेहिता चाहेको स्पष्ट सन्देश दिइएको छ।


















