सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा टोलबाट प्रहरीले १४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले विशेष सूचनाका आधारमा गरेको खानतलासीका क्रममा गाँजा बरामद भएपछि स्थानीय ६५ वर्षीय जोगिन्द्र साह पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ८:४५ बजे लागूऔषध गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय धनगढी सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी जोगिन्द्र साहको घर तथा कम्पाउन्डको खानतलासी गर्दा उनले आफ्नै बारीमा बोराभित्र लुकाएर राखेको अवस्थामा १४ किलोग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा तत्काल नियन्त्रणमा लिई साहलाई समेत पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ। सीमावर्ती जिल्ला भएकाले लागूऔषधको अवैध कारोबार रोक्न नियमित निगरानी, सूचनाको आधारमा छापा तथा विशेष अपरेशन सञ्चालन भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले लागूऔषधको अवैध कारोबार तथा ओसारपसारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै यस्ता गतिविधिबारे सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।