सिरहा । सरकारी पदको दुरुपयोग गर्दै सेवाग्राहीसँग खुलेआम घुस असुल्ने क्रममा सिरहाको बन्दीपुरस्थित सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख रामएकवाल राय यादव अख्तियारको फन्दामा परेका छन्। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले उनलाई सिरहाको कर्जन्हा नगरपालिका-४ बाट १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

अख्तियारका अनुसार कर्जन्हा नगरपालिका -२ मा रहेको एक काठ उद्योगबाट विभिन्न स्थानबाट ल्याइएको काठको प्रक्रिया मिलाइदिने नाममा यादवले तीन ट्रक काठका लागि प्रति ट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।
सेवाग्राहीले पटक-पटक घुस मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले गोप्य निगरानी थालेको थियो। योजनाअनुसार सञ्चालन गरिएको अपरेशनमा यादव घुस रकम बुझ्दै गर्दा रंगेहात समातिएका हुन्। उनको साथबाट घुसस्वरूप लिइएको रकमसमेत बरामद गरिएको छ।

घटनापछि सम्बन्धित क्षेत्रमा वन प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ। सार्वजनिक सेवा दिनुपर्ने जिम्मेवारीमा रहेका कर्मचारी नै घुसको कारोबारमा संलग्न भएको आरोपले सुशासन, पारदर्शिता र सरकारी संयन्त्रप्रतिको जनविश्वासमाथि गम्भीर चोट पुगेको स्थानीयको भनाइ छ।
हाल यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। आयोगले नागरिकलाई कुनै पनि सरकारी कार्यालयमा सेवा लिन जाँदा घुस मागिएमा प्रमाणसहित तत्काल उजुरी गर्न पुनः आग्रह गरेको छ।

















