सिरहा — जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आदेश आंशिक रूपमा खुकुलो पारेको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषणपछि साउन १७ गते बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्म कर्फ्यू खुकुलो पारिएको हो।

प्रशासनले स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्यूलाई अझ खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गरिने जनाएको छ।

साथै, गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवतजावतमा आवश्यक सहजीकरण गरिने उल्लेख गरिएको छ। कर्फ्यू खुकुलो पारिएको अवधिमा ५ जनाभन्दा बढी समूहमा भेला वा जम्मा नहुन प्रशासनले सबैसँग आग्रह गरेको छ।