सिरहा । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले अवैध हतियारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार साउन १९ गते राति करिब ११ बजे प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा चेकजाँच गर्दा स्थानीय २० वर्षीय सबरजीत दासको पाइन्टको दाहिने गोजीबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको एक थान पेस्तोल बरामद गरेको हो।


उक्त घटनामा सबरजीतसँगै रहेका सोही स्थानका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दासलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


बरामद गरिएको पेस्तोल र म्याग्जिनसहित तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिएका छन्।