सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–४, सिमरास्थित बलान खोलाबाट प्रहरीले ५३ किलो ४६५ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको नियमित गस्ती टोलीले बिहीबार राति करिब ११ः५० बजे चार जना व्यक्तिले प्लास्टिकका चारवटा बोरा कपडाको नाम्लो बनाई टाउकोमा बोकेर ल्याउँदै गरेको अवस्थामा फेला पारेको थियो । प्रहरी टोलीलाई देख्नासाथ उनीहरूले बोरा फालेर फरार भएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका चारवटै बोरा जाँच गर्दा गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो । बरामद पदार्थ कार्यालयमा ल्याई तौल गर्दा ५३ किलो ४६५ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बरामद पदार्थ सम्बन्धमा इलाका प्रहरी कार्यालय लहानले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै घटनास्थलबाट फरार भएका चारै जनाको खोजतलास तथा पहिचान गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।